इस्लामका पाँच मौलिक स्तम्भहरुमध्ये एउटा स्तम्भ रोजा हो । अनिवार्य इस्लामी कर्तव्य वा उपासनाहरुमध्ये ‘रोजा’ पनि एउटा महत्वपूर्ण उपासना हो । अरबी शब्द ‘सियाम’ को फारसी अनुवाद ‘रोजा’ हो । नेपाली भाषामा यसलाई ‘ब्रत’ भन्न सकिन्छ । ‘सियाम’को शाब्दिक अर्थ केही कार्यबाट आफूलाई रोक्नु हुन्छ । त यहाँ यसको अर्थ फज्र (बिहान सुर्दोदय अघि)को नमाजको समय शुरु भइपछि सूर्यास्त नभएसम्म नियतका साथ खानपिन र यौन क्रियाकलापबाट आफूलाई रोक्नु हो । कुरआनमा भनिएको छ, “मैले करुणामयी (रहमान) का लागि आफूलाई रोकी र।ख्ने प्रतिज्ञा गरेको छु ।” यहाँ यसको अर्थ अनर्थ कुराबाट आफूलाई रोक्नु हो । अल्लाहको प्रसन्नताको लागि मनोकांक्षालाई रोक्नु वा वशमा पार्नु, मनमा अल्लाहको डर लिएर नराम्रा क्रियाकलाप र बोलीवचनबाट आफूलाई रोक्नु, हरहमेशा अल्लाहलाई याद गर्नु र बढीभन्दा बढी मात्रामा पुण्यकार्यहरु गर्नु नै रोजाको वास्तविकता हो ।
रोजा पूर्णरुपले अदृश्य उपासना हो । रोजा बाहेकका अरु जति पनि उपासनाहरु छन् ती सबै कुनै न कुनै रुपमा दृश्य कृयाकलापमा आधारित छन् । जस्तै उदाहरणको लागि नमाजमा व्यीक्त उठ्ने बस्ने कार्य गर्छ, रुकुअ् र सज्दा गर्दछ जसलाई हरेक व्यक्तिले देख्न सक्दछ । जकात पनि एक व्यक्तिले दिन्छ भने अर्को व्यक्तिले अवश्य त्यसलाई लिन्छ । त्यसै कुनै व्यक्तिलाई त अवश्य थाहा हुन्छ । त्यस्तै हज (तिर्थाटन) एउटा लामो यात्रा हो जसमा हजारौं लाखौं व्यक्तिहरुको साथ यात्रा हुने गर्दछ । त्यसैले कसैले हज गरे वा नगरेको कुरा धेरैलाई थाहा भइहाल्छ । यसरी यी तीनवटा उपासनाहरुको अवस्था अरु समक्ष प्रकट नभई गुप्त रहन सक्दैन । कसैले यी उपासनाहरुको गरे पनि अरुलाई थाहा हुन्छ र नगरे पनि अरुलाई थाहा हुन्छ । तर यसको विपरीत रोजा यस्तो उपासना हो जसको बारेमा उपासक (व्यक्ति) र उपास्य (अल्लाह) बाहेक अरु कसैको अगाडि स्पष्ट हुँदैन । कुनै एक व्यक्ति अरुको अगाडि बिहान फज्रको नमाजको अजानभन्दा अगाडि खाइने खाना अर्थात ‘सेहरी’ खाएपछि सूर्यास्तपछि रोजा समाप्त गर्ने खाना अर्थात इफ्तारसम्म देख्ने गरी केही खानपिन गर्दैन तर लुकेर वा अरुले नदेख्ने गरी खानपिन गर्दछ भने उक्त कुरा अल्लाह बाहेक कसैलाई थाहा हुँदैन र अरुले यस्तो भएको कुराको शंका पनि गदैनन् । सबै मानिसहरुले ऊ रोजामा रहेको ठान्दछन् तर वास्तवमा ऊ रोजामा हुदैन ।
जो व्यक्ति अल्लाह परोक्षको कुरा जान्नेवाला हुन् भन्ने कुरामा दृढ विश्वास राख्दछ ऊ वास्तवमा नै रोजा राख्दछ । यस्तो व्यक्ति तिर्खाले व्याकुल भए पनि वा जतिसुकै गर्मी भए पनि एक थोपा पानी पनि घाँटीबाट तल झर्न दिदैन । त्यस्तै असाध्यै भोक लागेर आँखा गढ्न थाले पनि ऊ कुनै खाना खाने इच्छा समेत गर्दैन । जतिसुकै भोक र प्यासबाट कष्ट उठाउनु परे पनि उसको हृदयमा रहेको अल्लाहको डरको कारणले गर्दा ऊ कुनै यस्तो काम गर्न तयार हुदैन जसबाट रोजा तोडिन्छ ।
रोजा अलह तआलाद्वारा लिइने एउटा कठिनभन्दा कठिन परीक्षा हो । एक महिनासम्म हुने कठिनभन्दा कठिन परीक्षा हो । एक महिनासम्म हुने यो निरन्तर परीक्षामा मानिस जति बढी खरो भएर उत्रिन्छ उति बढी उसको ईमान (आस्था) मजबुत हुँदै जान्छ । दैनिक १२/१४ घण्टा भोक, प्यास सहेर, हराम हलाललाई पूर्ण रुपले पहिचान गरी मनोकांक्षा र क्रियाकलापलाई पूर्ण नियन्त्रणमा र।ख्ने एक महिने ट्रेनिङ्ग हो रोजा । यस एक महिनाको रोजाले वर्षका बाँकी एघार महिनामा पनि अल्लाहको डर मनमा लिएर अल्लाहलाई मन नपर्ने कार्य गर्न र सोच्नबाट मानिसलाई टाढा राख्नमा मद्दत गर्दछ । रोजाले अल्लाहका आदेश अनुसार जीवन व्यतित गर्ने, कुरआन अनुसार हिड्ने, त्यसमा अल्लाहले दिएको आदेश मान्ने, गर्न भनेको काम गर्ने र रोकिएको कामको नजिक पनि नजाने प्रशिक्षण तथा तालिम दिइन्छ ।
रोजा राख्नुको अर्थ भोक तिर्खा सहनु र अन्य समयमा सामान्य रुपले गनिे केही कार्यबाट अलग रहनु मात्र होइन । रोजा भित्र आँखा, जिब्रो, कान, शरीरको अन्य अंगहरुको रोजा पनि पर्दछन् । जुन चिज तर्फ दृष्टि पारेको अल्लाहलाई मन पर्दैन त्यसतर्फ नहेर्नु वा दृष्टिलाई तल पार्नु आँखाको रोजा हो । त्यसैले जुन चीजहरु हेर्न मन तड्पिन्छ र त्यसले अल्लाहको यादबाट भड्काउँछ भने त्यस्तो चीजप्रति दृष्टि नै पार्नु हुँदैन । त्यस्तै मुखबाट अनावश्यक कुरा ननिकाल्नु, झुठो नबोल्नु, गीबत (अरुको विषयमा खराब चर्चा) नगर्नु, कुरा नलगाउनु, लज्जास्पद कुरा नगर्नु, अत्याचार र ज्यादति नगर्नु, झगडा नगर्नु, वचन र प्रतिज्ञा नतोड्नु र कसैको कुरा नकाटनु मुख रोजा हो । अरुको विषयमा नराम्रो कुरा भन्दै हिड्नु वा गीबत गर्नु आफ्नो मुर्दा अथवा मरेको भाइको मासु खानु सरह हो । यदि रोजाको समय र अन्य समयमा समेत बोलीको प्रयोग यस्तो रहन सके मानिस मानिस बीच कुनै प्रकारको वैमनश्यता र शत्रुताको भाव उठ्ने छैन र द्वन्द्व तथा झगडाको अवस्था सिर्जना हुने छैन ।
त्यस्तै नराम्रो कुरा नसुन्नु वा त्यसप्रति ध्यान नदिनु कानको रोजा हो । जसरी नरामो कुरा बोल्नु हराम हो त्यसरी नै नराम्रो कुरा सुन्नु पनि हराम नै बराबर पापका भागिदार छन् । त्यसैले हामीले आफ्नो कानलाई पनि त्यस्तो कुराबाट बचाउनु पर्दछ । यसले एक अर्को प्रति हुन सक्ने अनावश्यक नकारात्मक सोच पैदा हुन पाउँदैन । यो एउटा असल मानतावादी गुण हो । त्यसरी नै हाम्रा हातखुट्टा लगायतका अंगहरुलाई पनि खराब वा हराम कार्य गर्नबाट रोक्नु पर्दछ । हाम्रा हातहरुलाई हराम खान र खुट्टाहरुलाई हराम कामको लागि अघि नबढाउनु नै हात र खुट्टाको रोजा हो । हराम खान हात बढाउनु वा हराम कार्य गर्न पाइला अघि बढाउनु अल्लाहको बेकदर गर्नु वा उनको आदेशको उल्लङ्घन गर्नु हो ।
यो उपासना शुरुदेखि नै सबै सन्देष्टाहरुको धर्मग्रन्थहरुमा अनिवार्य गरिएको थियो । विगतमा जति पनि समुदायहरु थिए ती सबैले रोजा राख्दथे । तर रोजाको आदेश, रोजाको संख्या(दिन) र रोजा राख्ने तरिका तथा समय भने धर्मग्रन्थ अनुसार फरक फरक रहेको थियो । सन्देष्टा मुहम्मद (स.)को समयभन्दा पहिलेखि नै रोजालाई अनिवार्य गरिएको कुरा प्रष्ट पार्दै अल्लाहले कुरआनमा भनेका छन्, “हे आस्थावानहरु हो । तिमीहरुमाथि रोजा अनिवार्य गरिएको छ जसरी तिमीहरुभन्दा पहिलेका समुदायहरुमाथि अनिवार्य गरिएको थियो, आशा छ कि तिमीहरु भित्र इशभय उत्पन्न हुनेछ ।” (सुरह बकरहः आयत १८३)
मानिसको जीवनमा रोजाको ठूलो महत्व रहेको छ । रोजाले मानिसलाई त्यस्ता कार्यबाट रोक्नको लागि सक्षम पार्दछ जुन नैतिक, व्यवहारिक दृष्टिबाट खराब तथा हराम (अवैध) छन् । रोजा राख्नुको अर्थ आत्मालाई संयमित राखी निश्चित अवधीसम्म खानजिन बन्द गर्नु, यौन आकांक्षालाई दबाएर राख्नु पनि हो । त्यति मात्र होइन नराम्रा वा अपवित्र किसिमको सोचाई पनि मनमा नल्याउनु र आफूलाई हर हमेसा असल कार्यमा लगाउनु हो । रोजाको अवस्थामा मानिस हरेक खराब र अरुलाई हानी हुने कार्यबाट बच्दछ भने उसको मनमा अमन शान्ति फैलिने भावना उत्पन्न हुन्छ र त्यस्तै कार्यमा आफूलाई मात्र पापबाट बचाउने प्रयास गर्ने होइन कि यदि ऊ जस्तै अरु रोजेदारमा कुनै कमीकमजोरी देखियो भने त्यसलाई हटाउन पनि ऊ सहयोगी बन्दछ र अरु रो.जेदारहरुले पनि उसका कमीकमजोरी हटाउन मद्दत गर्दछन । हरेक व्यक्तिलाई रोजा राखेको अवस्थामा पाप गर्न वा अरुलाई हानि नोक्सानी हुने कार्य गर्न लाज लाग्दछ र उसको हृदयमा केही भलाई गरौं भन्ने इच्छा जागेर आउँछ । कुनै गरीबलाई खाना खुवाऔं, कुुनै कपडा विहिनलाई कपडा पहिराई दिऔं, कुनै दुखिलाई मद्दत गरौं, कुनै स्थानमा यदि कुनै पुण्यकार्य हुदैछ भने त्यसमा आफू पनि सहभागी बनौं, कही कतै देखादेखि कुनै नराम्रो काम भइरहेका छ भने त्यसलाई रोकौं भन्ने भावना रोजेदारको मनमा जागेर आउँछ । रोजाको शुरुका दिनमा हुन सक्ने भोक र प्यासको व्याकुलताबाट खान नपाउने गरीबहरुको कष्टको अनुभुति रोजेदारमा हुन्छ र ऊ गरीकहरुलाई मद्दत गर्ने हात अगाडि बढाउन थाल्दछ । यसले गर्दा भलाई र ईशभयको एउटा वातावरण खडा हुन्छ र सारा जगत भलाई नै भलाईले हराभरा भएको देखिन थाल्छ । यसरी रोजा प्रत्येक व्यक्तिलाई पाप र खराब कार्यबाट बचाउने एउटा सुरक्षा कवज भएको कुरा पष्ट हुन्छ ।
रोजाले मानिसमा अल्लाहको डर र आशा जगाउँछ । हरेक कार्य गर्दा मानिसले अल्लाहले प्रकोपको भागिदार हुने डर मनमा लिनु पर्दछ । यसले उसलाई खराब कार्यबाट रोक्दछ । त्यस्तै अल्लाहबाट असल प्रतिदान प्राप्त हुने आशामा हरेक राम्रा कार्यहरु गर्न मानिसले आफ्ना हात र खुट्टा अघि बढाउनु पर्दछ ।
अल्लाह हरेक समय, स्थान, अँध्यारो–उज्यालो, थकानमा तथा हरेक राम्रा–नराम्रा काममा उनको दृष्टि हुने अनुभुति र विश्वस रोजाले जगाँउछ । मानिस भित्र मानवताको यस्तो खुबी उत्पन्न हुन्छ जुन प्रहरी र अदालतको डर, सजाँय र जरिवानाको डर विना नै खराबी, अत्याचार र भ्रष्टाचारबाट ऊ आफैं स्वेच्छाले बच्छ । त्यस्तै मानव प्रति प्रेम, उसप्रति नम्रता, माफी, मद्दत, सहयोग र भातृत्व जस्ता रामा व्यवहारको तालिम जुन इस्लामले दिएको छ त्यसलाई वास्तविक व्यवहारमा उतार्नका लागि रमजान अर्थात अनिवार्य रोजाको महिनामा बढी जोड दिइएको छ । रोजाको महिनामा यी असल कार्यहरुको बदला तथा पुण्य अरु सामान्य दिनमा गरेकोभन्दा सत्तरी गुणा बढी प्राप्त हुन्छ । त्यसैले रोजाको महिनामा यस्ता असल कार्य बढीभन्दाबढी गरेर अल्लाहको खुशी प्राप्त गर्ने प्रयास प्रत्येक रोजेदारले गर्दछ । यसले गर्दा मानिस कोसिस गर्दछ । रोजाको माध्यमबाट मानिसलाई व्यक्तिगत र सामाजिक खराबीबाट बच्ने शिक्षा दिइन्छ । बाध्यताबश एक रोजा छोडेमा त्यसको बदलामा एकदिन रोजा राख्न असमर्थ भएमा एकजना गरिबलाई खाना खुवाउन तथा बाध्यता विना रोजा छोडेमा त्यसको बदलामा साठी रोजा राख्न सो नसकेमा साठी जना गरिबलाई खाना खुवाउने आदेश धर्मशास्त्रले दिएको छ । एक महिनाको रोजा राखेपछि आभार प्रकट गर्न एवं खुशीयालीमा ईदको नमाज पढिन्छ । इस्लामको तालिम अनुसार ईदको नमाज भन्दा पहिले घरका पत्येक व्यक्ति बालबालिका, महिला, पुरुष सबैको तर्फबाट एक निश्चित रकम वा सामान गरिब एवं असहायलाई दिनु पर्दछ । यो बिना उसको रोजा अल्लाह समक्ष स्वीकार्य हुँदैन । यसको उद्देश्य एकातिर ईदको खुशीयाली र अर्कोतिर गरिबहरुलाई खानपिनबाट विमुख भएको अवस्था हुन नदिनु हो । यसरी रोजाले मानिसमा अनेकौं मानवतावादी भावना र व्यवहारको विकास गर्दछ र सारा मानव समाजमा सुख, शान्ति र भातृत्वले बास पाउँछ । एउटा हदीस अनुसार हजरत अबु हुरैरा (रजि) को भनाई छ कि रसुलुल्लाह (स.) ले भन्नुभयो, “अल्लाह तआला भन्दछन्, प्रत्येक कार्य आदमका छोरा (मनुष्य) हरुका लागि नै हुन् तर रोजा सुरक्षा कवज हो । यदि कोही रोजामा छ भने त्यस दिन उसले गालीका शब्द प्रयोग नगरोस् र आवाज ठूलो नपारोस् र तैपनि यदि कोही गाली गर्दछ वा झगडा गर्न आउँछ भने उसले भनोस् कि म रोजामा छु ।” त्यस अस्तित्वको कसम जसको हातमा मुहम्मदको ज्यान छ । निश्चय नै रोजेदारको मुखको गन्ध अल्लाहको लागि प्रलयको दिनको मुस्क (कस्तुरी) को सुगन्धभन्दा बढी नै मनपर्दो छ । रोजेदारको लागि दुई खुसीहरु छन् जसबाट ऊ खुशी हुन्छ । पहिलो त इफ्तार (रोजा समाप्त गर्न कार्य)बाट उसले खुशी प्राप्त गर्दछ भने दोस्रो आफ्नो रोजाको कारणले जब ऊ आफ्नो पालनहारलाई भेट्छ त्यसमा ऊ खुशी हुन्छ ।” (मुस्लिमः कितावुस्सियाम) त्यस्तै अर्को हदीस अनुसारः हजरत सहल विन साद (रजिं)को भनाई छ, रसुलुल्लाह (स.)ले भन्नुभयो , “जन्नतमा एउटा ढोका छ जसको नाम रय्यान हो । कियामत (बदला दिइनें मा दिन भनिनेछ कि रोजेदारहरु कहाँ छन् ? रोजेदारहरुमध्ये जो पनि त्यो ढोकाबाट भित्र छिर्छ, त्यो कहिल्यै पनि तिर्खालु रहदैन ।” (इब्नेमाजाः किताबुस्सियाम)
लेखक : इरफान पोखरेल
No comments:
Post a Comment