इस्लामका पाँच आधार स्तम्भहरु मध्ये रोजा एउटा स्तम्भ हो । अनिवार्य इस्लामी कर्तव्य वा उपासनाहरुमध्ये रोजा पनि एउटा उपासना हो । अरवी शब्द ‘सियाम’ को फारसी अनुवाद रोजा हो । नेपाली भाषामा यसलाई उपबास वा ब्रत भनिन्छ । ‘सियाम’ को शाब्दिक अर्थ आफूलाई केही कार्यहरुबाट रोक्नु हो । तर यहाँ यसको अर्थ फज्र (बिहान सूर्योदय हुनु अघि) को नमाजको समय शुरु भएदेखि सूर्यास्त नभएसम्म नियतका साथ खानपिन र यौन क्रियाकलापबाट आफूलाई रोक्नु हो । कुरआनमा भनिएको छ, “मैले करुणामय (रहमान) का लागि आफूलाई रोकिराख्ने प्रतिज्ञा गरेकी छु ।”
यहाँ यसको अर्थ अनर्थ कुराबाट आफूलाई रोक्नु हो । अल्लाहको प्रसन्नताको लागि मनोकाँक्षालाई रोक्नु वा वशमा पार्नु, मनमा अल्लाहको भय लिएर नराम्रा क्रियाकलाप र बोली वचनबाट आपूmलाई रोक्नु, हरहमेशा अल्लाहलाई याद र प्रेम गर्नु र बढीभन्दा बढी मात्रामा आपूmलाई पूण्य कार्यमा समर्पित गर्नु नै रोजाको वास्तविकता हो ।
हिजरी पात्रो अनुसारको नवौं महिनालाई रमजान महिना भनिन्छ । यस महिनालाई वर्षको सबभन्दा पवित्र महिनाको रुपमा जानिन्छ । वर्षभरीका अन्य एघार महिनाका केही दिनमा ऐच्छिक (नफिल) रोजा राख्न सकिन्छ तर यो महिनामा प्रत्येक वालिग महिला तथा पुरुषले रोजा राख्न अनिवार्य छ । नैतिक र व्यवहारिक रुपमा सचेत प्रत्येक महिला तथा पुरुषलाई रमजान महिनाको रोजा राख्न अल्लाह तआलाबाट नै अनिवार्य गरिएको छ ।
सामान्यतः हामीले सुने, देखे र भोगे अनुसार कुनै पनि कानुनको आवश्यकता जुनबेला पर्छ त्यसैबेला त्यो तयार गरिन्छ र त्यसलाई तत्काल लागु पनि गरिन्छ । यदि कानून निर्माण कै समयमा लागु गर्न सकिएन भने त्यो प्रभावकारी बन्न सक्दैन र त्यसबाट मानिसले लाभ उठाउन पनि सक्दैन । यस्तो मानव निर्मित कानून कुनै निश्चित क्षेत्र वा राष्ट्रको लागि हुन्छ र चाहेको अवस्थामा सजिलै परिवर्तन गर्न वा हटाउन सकिन्छ । यस्तो कानून कुनै एक राष्ट्र वा राज्यको लागि मात्र त्यहाँको आवश्यकता अनुसार बनाइएको हुन्छ जुन अर्को राष्ट्र वा राज्यको लागि लाभदायक नहुनसक्छ । त्यसैले त्यस्तो कानून वा संविधान अर्को राष्ट्रको लगि अमान्य बन्न पुग्छ ।
हरेक देशमा कानून जुन समयमा बन्छ तत्काल त्यो लागु भई हाल्छ । यदि सोहि समयमा त्यस कानूनलाई लागु गर्न सकिएन भने त्यो कानूनको औचित्य रहदैन । समय र आवश्यकता अनुसार उक्त मानव निर्मित कानून सजिलै परिवर्तन हुन सक्छ । हामीले देखे, भोगे अनुसार यस्तो कानुन यदि प्रतिकुल देखिएमा तत्काल परिवर्तन हुनसक्छ । तर परिवर्तित कानुन पनि त्यसै सयमा लागु गरिन्छ, जुन समयमा त्यो बनेको हुन्छ ।
समय समयमा परिवर्तन भइरहने मानव निर्मित कानुनप्रति हुने व्यवहार त यस्तो छ भने कुरआन त सत्य ईश्वर अल्लाहको कानुन हो । मानवको मार्ग निर्देशनको लागि उसको संपूर्ण पक्षलाई स्पष्टसँग निर्देशित गरिएको ईश्वरीय कानुन कुरआन हो । मानिसले गर्न हुने वा गर्न नहुने, असल वा खराब कार्य, पाप वा पूण्य कर्महरु बारेमा यसले स्पष्ट पारेको छ । अल्लाहले फरिश्ता जिब्रइल (अलै.) को माध्यमबाट मुहम्मद (स.) माथि अवतरित गरेको यस कुरआनमा सांसारिक कुनै पनि मानवीय क्रियाकलापको मार्ग निर्देशन छुटेको छैन । मानिसको जीवनमा गरिने आर्थिक, सामाजिक, नैतिक, आध्यात्मिक, राजनैतिक, युद्ध, सन्धि संझौता लगायत संपूर्ण क्रियाकलापहरुमा कुन असल र कुन खराब हो भन्ने कुराको पहिचान यसले गराउँछ ।
असल कार्यबाट हुने लाभ, कल्याण र पूण्य तथा खराब कार्यबाट भोग्नु पर्ने हानी, पिडा र यातनाको उदाहरण दिएर यसले मानिसलाई सचेत गर्न खोजेको छ । मानिसको अल्पकालिन सांसारिक जीवन र मृत्यु पर्यन्तको अनन्तकालिन जीवनलाई सुखमय बनाउन दिशा निर्देश गर्ने एक मात्र कानूनको अवतरणको प्रारम्भ रमजान महिनामा भयो । कुरआनको अवतरण रमजान महिनाबाट शुरु भएको भन्ने कुराको प्रमाण कुरआनमा नै रहेको छ । पवित्र कुरआनको दोस्रो अध्यायको श्लोक नं. १८५ मा भनिएको छ, “रमजानको महिना त्यो महिना हो जसमा कुरआन अवतरित गरियो । यो मानवजातिको लागि मार्गदर्शन हो र यसमा सत्मार्गको लागि र सत्य तथा असत्य बीच फरक छुट्याउन स्पष्ट प्रमाणहरु छन् । अत तिमीहरु मध्ये जसले यस महिनालाई पाउँछ उसले अनिवार्य रुमपा यसको ब्रत राखोस् र जो बिरामी वा यात्रामा छ उसले अरु दिनहरुमा ब्रत राखी त्यसको गन्ति पुरा गरोस् ..... ।” अल्लाह तआलाले मानव जीवनको पूर्ण व्यवस्था मिलाउन मार्ग निर्देशन गर्ने संपूर्ण कुरआन अल्लाहका दुत (फरिश्ता) जिब्राइल (अलैं) लाई यसै रमजान महिनामा दिए र अल्लाहको आदेश अनुसार आवश्यकता अनुसार अलि अलि गर्दै अन्तिम सन्देष्टा मुहम्मद (स.) माथि यसै रमजान महिनादेखि अवतरित गर्न शुरु गरे । यो क्रम २३ वर्षसम्म कायम रह्यो र संपूर्ण कुरआन नवी (स.) मा अवतरित भयो जसबाट मानवले मार्ग दर्शन पाए ।
मानिसको सुख सुविधाको लागि प्रलयको दिन सम्मका लागि सृष्टिकर्ता पालनकर्ता, रक्षक, दयावान् अल्लाहको तर्फबाट पठाइएको कानून वा संविधान रमजान महिनामा अवतरित भएकाले यसलाई त्यसै महिनामा लागु गर्नुको कुनै विकल्प थिएन । त्यसैले अल्लाहले धैर्यता, आत्मासंयमता र दयालुताको परीक्षाको रुपमा रोजालाई यसै महिनामा अनिवार्य गरे । अल्लाहले कुरआन अवतरण गरेको महिना रमजान वर्ष भरीको सबैभन्दा पवित्र महिना हो । त्यसैले सबभन्दा पवित्र महिनामा नै रोजा अनिवार्य हुनु उचित थियो र त्यसै अनुसार भयो पनि । जसरी अन्धकार रातको अन्त्य र बिहानीको शुरुआत सँगै नयाँ बिहानीको रुपमा कुरआनको अवतरण रमजान महिनाबाट शुरु भयो, त्यसैलाई रोजाको महिना घोषित गर्नु सर्वथा सहि थियो । नयाँ बिहानीको उज्यालो प्रकाश बोकेर आएको यस रमजान महिनाका दिनहरुलाई रोजाले र रातहरुलाई उपासनाले सुसज्जित पार्नु सर्वथा उचित थियो ।
रमजान महिना नै त्यो महिना हो जसमा नवी (स.) सबभन्दा बढी कुरआन पाठ गर्नुहुन्थ्यो र उहाँ (स.) यसै महिनामा सबभन्दा उदार र सत्कर्मी बन्नुहुन्थ्यो । त्यस्तै यसै महिनामा फरिश्ता जिब्राइल (अलैं) नवी (स.) समक्ष आएर कुरआन पाठ दोहो¥याउने गर्थे । अल्लाहले यसरी रमजान महिनालाई पवित्र र महत्वपूर्ण बनाएर रोजाको महिनाको रुपमा छनोट गरेका हुन् ।
हदीस संग्रह मिश्कातमा उल्लेख भएको एउटा हदीसले पनि रमजान महिनामा रोजा अनिवार्य हुनुको कारण प्रष्ट पार्दछ । सलमान फारसीको भनाई छ, शअ्वान महिनाको अन्तिम दिनमा नवी (स.) ले खुतबा (भाषण) दिनुभयो जसमा उहाँले भन्नुभयो, “हे मानिसहरु हो ! एउटा महान तथा मंगलमय महिना नजिक आएको छ । त्यो यस्तो महिना हो जसको एकरात एकहजार महिनाभन्दा उत्तम छ । अल्लाह तआलाले यस महिनामा रोजा राख्न अनिवार्य गरेका छन् र यस महिनामा तराविह पढ्न नफ्ल (स्वेच्छिक) गरिदिएका छन् । जो व्यक्ति यस महिनामा कुनै एउटा असल कार्य आफ्नो हृदयको खुशीले स्वयं गर्छ त्यो यस्तो हुन्छ जस्तो कि रमजान बाहेकको अर्का महिनामा फर्ज (अनिवार्य) पूरा गरेको हो । यस महिनमा फर्ज (अनिवार्य) पूरा ग¥यो भने त्यो यस्तो हुन्छ जस्तो कि रमजान बाहेक अर्को महिनामा कसैले सत्तरी फर्ज पूरा ग¥यो । यो धैर्यको महिना हो र धैर्यताको बदला जन्नत (स्वर्ग) हो । यो महिना समाजका गरिब र आवश्यकता भएकाहरुका साथ दया र सद्भावको महिना हो ।” रमजान महिनाले पुरा वातावरणलाई मलाई र ईशभयको आत्माले भरिदिन्छ ।
जसले गर्दा पूरै समुदायमा ईशभय र ईशप्रेमको खेती हराभरा भएझै लाग्छ । यो महिना हरेक आस्थावानहरुको लगि भलाई नै भलाईको रुपमा रहेको छ । मानिसको मन भड्काएर कुमार्ग अर्थात अनास्थाको मार्ग तर्फ लैजान खोज्ने सैतानहरु पनि पनि बाँधिएका हुन्छन् र नर्कका ढोकाहरु बन्द गरिएका हुन्छन् । रमजान महिनाका रातहरु ईशभय राख्नेहरुका लागि महत्वपूर्ण रहेका छन् । किनकी यस महिनाको एउटा रात यस्तो छ जुन एक हजार महिना भन्दा उत्तम छ । यस अनुसार रमजान महिनाको अन्तिम पाँच बिजोर रात मध्ये एउटा रात यस्तो छ जसमा गरेको उपासना, ईशप्रेम, ईशभक्ति ८३ वर्ष ४ महिना भन्दा बढी समयमा रातदिनमा गरेको उपासना भन्दा उत्तम हुन्छ । जसले यस रातलाई पाउँछ ऊ पारलौकिक जीवनमा मालामाल हुनेछ । त्यसैले जसले ईशभयका साथ यस महिनाका अन्तिम पाँच बिजोर रातमा अल्लाहको उपासना गर्छ उसले त्यो रातको पूण्य प्राप्त गर्छ ।
अनिवार्य रोजा रमजान महिनामा नै हुनुको कारण निम्न हदीसहरुबाट पनि प्रष्ट हुन्छ । (क) हजरत अबू हुरैरह (रजि.) को भनाई छ, रसुलुल्लाह (स.) ले भन्नुभयो, “जसले ईमान (आस्था) का साथ आत्म मुल्याङ्कन गर्दै रमजानको रोजा राख्छ उसका अतीतका (सानातिना) पापहरु माफ गरिनेछन् र जसले रमजानका रातहरुमा पूण्य प्राप्तिका लागि ईमान (आस्था) का साथ र आत्म मुल्याङ्कन गर्दै नमाज पढ्यो उसका लागि अतीतका (सानातिना) पापहरु माफ गरिनेछन् ।” (तिर्मिजी)
(ख) हजरत अबू हुरैरह् (रजि.) को भनाई छ, रसूलुल्लाह (स.) ले भन्नुभयो, “तिमी समक्ष रमजान महिना आयो, यो पवित्र महिना हो । अल्लाहले यसको रोजा तिमीमाथि अनिवार्य गरेका छन् । यस महिनामा स्वर्गका ढोकाहरु खोलिन्छन् र नरकका ढोकाहरु बन्द गरिन्छन् र शैतानहरु सिक्रिमा बाँधिन्छन् । यसमा एउटा रात यस्तो छ जुन हजार महिनाभन्दा उत्तम छ । जो व्यक्ति यस रातको पूण्यबाट बञ्चित रह्यो, त्यो पूण्य प्राप्तिबाट बञ्चित रहयो ।” (नसई, किताबुस्सियाम, ह. २११०)
यो त भयो रमजान महिनामा नै रोजा अनिवार्य गर्नुको हाम्रो तर्क कुरआन र हदीसको प्रकाशमा । यो मानवीय सामान्य तर्क मात्र हो । यसै महिनामा रोजा अनिवार्य गर्नुको वास्तविक कारण त अल्लाह तआलालाई नै थाहा होला जुन सामान्य मानव मस्तिष्कले जान्न सक्दैन । त्यसैले रमजान वाहेकको महिनामा रोजा अनिवार्य किन भएन भनेर प्रश्न गर्नु हाम्रो मुर्खता हुनेछ र रोजा प्रतिको आस्था नै कमजोर भएको ठहरिने छ ।
लेखक : इरफान पोखरेल
No comments:
Post a Comment