पृथ्वीमा मानव सृष्टि गर्नु अघि अल्लाह तआलाले जीन र फरिश्तालाई सृष्टि गरेका थिए । आफ्नो सृष्टि पृथ्वीमा आफ्नो उत्तराधिकारीका रुपमा मानिसको सृष्टि गर्ने अल्लाहलाई इच्छा भयो । जसलाई पुरा गर्न उनले आफ्नो माया शक्तिबाट माटोको प्रयोग गरी हजरत आदम अलैहि वसल्लमको प्रतिमा बनाए र त्यस प्रतिमामा क्रमसँग प्राण, बुद्धि र ज्ञान भरिदिए । हजरत आदम अलैहि सलामलाई पृथ्वीका सम्पूर्ण वस्तुका बारेमा ज्ञान दिए । अल्लाह तआलाले आदम (अलै) सँग रहनको लागि उनकी पत्नी ‘हव्वा’ लाई पनि सृष्टि गरे । ती दुवैलाई अल्लाहले स्वर्गमा पठाएर त्यहाँको सुखसयल उपभोग गर्न दिए । स्वर्गमा आदम (अलै.) र हव्वा (अलै.) लाई हरेक प्रकारका सुख प्राप्त थिए । त्यहाँ उनीहरुले न परिश्रम गर्नुपथ्र्यो, न कुनै रोग र कष्ट नै सहनु पथ्र्यो । आफ्नो इच्छा अनुसारको जीवन यापन गरी अल्लाह प्रति आभारी भई उनीहरु त्यहाँ रहन्थे । ती दुवैले स्वर्गमा अल्लाहको आदेश सिरोपर गरेर बसेका थिए । त्यहाँ अल्लाहले उनीहरुलाई एउटा रुखको फल खान त्यसको नजिक पनि नजान आदेश दिएका थिए । तर शैतान (इब्लीस) को बहकावमा आएर अल्लाहको त्यस आदेशको प्रकोपको भागिदार बन्न पुगे र ती दुवै एक अर्काको सामुन्ने सर्वाङ्ग नाङ्गै बन्न पुगे । तिनीहरुले स्वर्गका पातले आफ्नो शरीर छोपे । अल्लाहले भने “के मैले शैतान तिमीहरुको खुल्लम खुल्ला शत्रु हो भनेको थिइँन ?” त्यसपछि ती दुवैले अल्लाहसँग क्षमायाचना गरेर आफ्नो तर्फबाट आफैमाथि अत्याचार गरेकोले आफूहरुमाथि दया गर्न अल्लाह समक्ष नतमस्तक भए । त्यसपछि अल्लाहले जीविकोपार्जनका सम्पूर्ण कार्यको बारेमा जानकारी दिई ती दुवैलाई यस धर्तीमा पठाए । यसका साथै धतीमा विध्वंस नमच्चाउन र अल्लहलाई खुशी पार्ने कार्यहरुमा आफूलाई समर्पित गर्न समेत उनले आदेश दिए । यसरी अल्लाहले हजरत आदम (अलै.) लाई पहिलो मानव र आफ्नो पहिलो नवी (सन्देष्टा) बनाएर यस धर्तीमा पठाए । आदम (अलैं) एक हजार वर्षसम्म यस संसारमा रहे । तिनीहरुका धेरै सन्तानहरु भए जो संसारका विभिन्न कुनाकाप्चामा फैलिएर रहे । उनले आफ्ना सन्तानहरुलाई त्यही इश्वरीय शिक्षा दिए जुन उनलाई अल्लाहले दिएका थिए । तपाई, हामी जो उनलाई अल्लाहले दिएका थिए । तपाई, हामी जो संसारको जुनसुकै राष्ट्र वा प्रदेशमा बसेको भए पनि जुनसुकै वर्ण, भाषा र संस्कृती अँगाले पनि तिनै एक अल्लाहको पहिलो मानव र सन्देष्टा आदम (अलैं) का सन्तान हौं ।
अल्लाहले आदेश र इच्छा अनुसार मात्र काम गर्नका लागि मानिसलाई यस धर्तीमा उनले सृष्टि गरेका हुन् । पृथ्वीमा कुनै पनि वस्तुको मालिक मानिस होइन, त्यसका असल मालिक त अल्लाह मात्र हुन् । आखिरत (पुरस्कार र दण्डको फैसलाको दिन) मा अल्लाहको आदेश अनुसार हिड्नेलाई स्वर्गको सुखसयलमा पठाइन्छ भने, उत्तराधिकारी हुनुको कर्तव्य पूरा नगर्नेलाई नर्कको दन्कदो आगोमा होमिने छ । हजरत आदम (अलै.) ले आफ्ना सन्तानलाई यहि शिक्षा दिएका थिए । यो शिक्षाको पालना केहि समयसम्म त भयो तर पछि मानिसहरुले एक अल्लाहको भक्ति र सन्देशलाई छोडेर आफ्ना पूर्वजहरुको मूर्ति बनाएर पूज्न थाले । आफ्ना हातले बनाएका चीजलाई आफ्नो उपास्य बनाएर आफैमाथि उनीहरुले घोर अत्याचार गर्न थाले ।
मानिस आफ्ना पूर्वज आदम (अलै.) को एकेश्वरीय शिक्षालाई भुलेर कुमार्गतिर लागेको देखेर तिनीहरुलाई सहि मार्ग देखाउन र असल खरावको पहिचान गराउन तथा मानिसको असल कर्तव्य सम्झाउन अल्लाह तआलाले आफ्नो एउटा शिष्ट भक्त हजरत नूह (अलै.)लाई आफ्नो रसूल (सन्देष्टा) बताए । हजरत नूह (अलै.) ले अल्लाहको सन्देश मानिसहरु माझ फैलाउन थाले । उनले एकान्तमा बसेर वा समूहमा, सम्झाएर वा बुझाएर आफ्ना पुर्खा, आदम (अलै.) भन्ने गर्थे “यी निर्जीव मुर्तिहरु न हाम्रा माग सुन्छन्, न हामीलाई केहि दिन नै सक्छन् यी मूर्तिहरुले न लाभ पुर्याउन सक्छन् न नै हानी । त्यसैले आफ्ना असल इच्छा र सत्कर्म आफ्ना वास्तविक मालिक एक अल्लाहप्रति समर्पित गर्ने गर ।” उनी ९५० वर्षसम्म बाँचेर ईश्वरीय सन्देश मानिसहरुमा मात्र उनको कुरालाई स्वीकार गरे र अधिकाशं मानिसहरु शैतानको भड्कावटमा नै भुलिरहे । त्यस्ता दुराचारी मानिसको विनास गर्न अल्लाहले बाढीको रुपमा अजाव(श्राप) पठाए । अल्लाहले नुह (अलै.) उनका मुस्लिम साथीभाईहरु र सम्पूर्ण पशुपँक्षीका एक एक जोडीलाई एउटा बाढीरुपी प्रकोप पठाएर अल्लाहले विनास गरे । यसरी बाँकी रहेका धर्मात्माहरुका सन्तान पुनः पृथ्वीभरि फैलिए ।
यस प्रकोपको केहि वर्षपछि अल्लाह तआलाले ‘आद’ वंशज एक व्यक्ति हजरत हुद (अलै.) लाई सन्देष्टा (पैगम्बर ) का रुपमा जन्म दिए । हजरत हुद (अलै.) ले आफ्नो वंशका सम्पत्तिको घमण्ड गर्ने र निर्धामाथि अत्याचार गर्ने मानिसहरुालई त्यसो नगर्न, अल्लाह बाहेक अरुको उपासना नगर्न र सत्यमार्ग अपनाई जीवन सुधार्ने सन्देश दिए । तर उनीहरुले हजरत हुद (अलै.) लाई पनि हजरत नुह (अलैं) लाई झैं मुर्ख र झुठो व्यक्ति ठहराए । मानिसहरुले हजरत हुदको कुरा नमानेपछि अल्लाह तआलाको अजाव (श्राप) ले सात–आठ दिनसम्म आँधि, हुरी र वर्षात आई सारा बस्ती नै तहसनहस भयो । जसबाट नुह (अलै.) र उनका अनुयायीहरु बाहेक अरु कोही पनि जीवित रहन सकेनन् ।
हजरत हुद (अलै.) पछि अल्लाह तआलाले समुद वंशमा हजरत सालेह (अलै.) लाई आफ्नो रसुलको रुपमा जन्म दिए । उनले अल्लाह हामी सबैका रब (मालिक) भएकाले उनको मात्र भय राख्न र उपासना गर्न भने । उनले आफू अल्लाहको सन्देश भएको र आफूले भनेको सबै कुरा आफ्नो तर्फबाट नभएर अल्लाहको सन्देश अनुसार मात्र भएको बताए । आफ्नो वंशका मानिसहरुलाई उनले धन, सम्पत्ति र शक्तिको घमण्ड नगर्न, अल्लाहका विरोधी र उदण्डकारीहरुको कुरा नमान्नु भने । तर मानिसहरुले उनको कुा मान्नुको सट्टा उल्टै रसूल भएको प्रमाणित गर्न अजाब (श्राप) बोलाउन उनलाई चुनौती दिए । त्यसैले उनीहरुलाई सहि मार्गमा हिडाउन नसकिने महसुस गरी अल्लाहले अजाब (श्राप) को रुपमा भयङ्कर ठूलो भूकम्प पठाए । अल्लाहले आफ्ना रसूल हजरत सालेह (अलै.) र उनका मुस्लिम साथीभाइहरुलाई बचाए र बाँकी सबैको विनास भयो ।
यसरी अल्लाहले विभिन्न बंश र जातिमा आफ्नो रसूल पठाए । मानिसहरुलाई स्वयंद्वारा निर्मित बस्तुको पूजा, प्रार्थना र उपासना गर्न छोडेर सम्पूर्ण जगतका सृष्टिकर्ता एक अल्लाहको उपासना गर्न छोडेर मात्र शिर झुकाउन सिकाए । तर प्रत्येक पटक केहि मानिस बाहेक सबै मानिसहरु सैयौ देवि देवता र अल्लाहले बनाएका वस्तुहरुको अगाडि शिर झुकाएर, पूजा गरेर आफ्नो मनोकांक्षा पूरा गर्न खोज्थे । एक ईश्वरलाई बिर्सिएर बनावटी ईश्वरको पूजा आराधना गरेको देखेर अल्लाहले फेरी अर्को बंश वा जातिमा आफ्नो रसूल पठाए । अल्लाहले पठाएका रसूल मध्ये हजरत इब्राहिम (अलै.) त्यस समयका होनहार रसूल हुन् । हजरत इब्राहिम (अलै.) अलि ठूलो भएपछि आफ्नो जातिले पूज्ने गरेका मूर्ति जुन आफ्नै हातले बनाएका हुन्, तिनीहरुमा कसरी, कहाँबाट शक्ति आएर हामीलाई लाभ, हानी पु¥याउन सक्दछ भन्ने कुरामा विचार गर्न थाले । उनले यी चीजहरु आफ्नो ईश्वर नभएर तारा, सूर्य, चन्द्रमालाई केहि समय ईश्वर माने । तर ती पनि कुनै समय देखिने र कुनै समय हराउने भएकाले तिनीहरु पनि ईश्वर होइनन् भने उनको मनमा लाग्यो । त्यसैले उनले आफ्नो जातिका मानिस र मूर्ति बनाए र बेच्ने आफ्नै बाबुलाई भने “यी मूर्ति चन्द, सूर्य आदि न सुन्न सक्दछन्, न देख्न सक्दछन् र न तपाईहरुको कुनै काममा नै आउन सक्दछन् । त्यस्ता वस्तुलाई किन पूज्नुहून्छ ? ती त सबै सैतानको धोका मात्र हुन् । एक अल्लाहको पालना गर्नुहोस् उनै मात्र कृपालु, क्षमाशिल र सबै कुराका ज्ञाता छन् ।” यो करा सुनेर उनका बाबुले उनलाई घर छोड्न आदेश दिए । हजरत इब्राहिम (अलै.) ले आफ्नो घर, धन, सम्पत्ति सबै छोडे । उनले आफ्नो बाबु र जातिका मानिसहरुलाई भनेको कुरा आफ्नो वरपर गाँउका मानिसहरुलाई समेत बताए । उनका कुरा मानिसहरुले सुनेर झुठो सावित गर्न त सकेनन् तर त्यसलाई स्वीकार पनि गरेनन् ।
मानिसहरुलाई अल्लाहको मार्गमा हिड्न जति उपदेश दिदा पनि केहि सीप नलागेपछि उनले तिनीहरुलाई शिक्षा दिने एउटा उपाय सोचे । जस अनुसार उनले एउटा ठूलो मूर्ति बाँकी राखेर अरु सबै मूर्ति फुटाइदिए । गाउलेहरुले शंकाको भरमा हजरत इब्राहिम (अलै.)लाई बोलाएर “देवताहरुमाथि यस्तो दुष्ट व्यवहार तिमीले गरेको हो ७तिस भनेर सोधे । उनले उत्तर दिए ,” यो ठूलो देवतालाई सोध न, उसैले यो सबै गरेको होला, यो त बोल्छ होला । सबै कुरा भन्दिन्छ । यो सुने र सबैले टाउको निहुराएर आफ्नो मनमा सोचे, यस्तोलाई हामी ईश्वर मान्छौ, जसले आफ्नो त रक्षा गर्न सक्दैन, यसले हाम्रो हेरचाह कसरी गर्दछ । मनमा यस्तो सोचेता पनि आफ्ना देवीदेवताहरुका मुर्ति यसरी नाश गरिदिएकोमा उनीहरु हजरत प्रति रुष्ट भए । त्यसैले उनीहरुले हजरत इब्राहिम (अलै.) लाई आगोमा हालेर आफ्नो ईश्वरको बदला लिने विचार गरे । उनीहरुले उनलाई अजारौं मन काठको दन्कदो आगोमा हालिदिए । तर अल्लाहका अगाडि आगोमा हजरत इब्राहिमलाई जलाउन सकेन । तुरुन्तै आगो चिसो भयो र उनी अल्लाहद्वारा बचाइए ।
आफ्नो देशका मानिसहरु अल्लाहको सत्य र स्वयंसिद्व सन्देशलाई स्वीकार नगर्ने बुझेर हजरत इब्राहिम (अलै.) घरबाट निस्के र देश विदेशमा मानिसहरुलाई अल्लाहका कुरा भनेर दीन (सत्यधर्म) तर्फ बोलाए । उनले आफ्नो बाबु–बाजेको धर्म छोडेर पूर्णरुपले अल्लाहको दीन (धर्म) मा हिड्ने निश्चिय गरे । आफ्नो जीवन अल्लाहको भरोसामा छोडी दीनलाई बढाउने काममा लाग्दा अल्लाहको तर्फबाट उनलाई कडा परिक्षा पनि लिइयो । उनी अल्लाहको इच्छा अगाडि झुक्छन् वा आफ्नो जीवन, धन, सम्पत्ति र सन्तानको मायामा झुक्छन् भन्ने कुरा थाहा पाउन अल्लाहले एउटा परीक्षा लिए ।
हजरत इब्राहिमको बुढेसकालमा दुई छोराहरु जन्मिएका थिए । ती हजरत इस्माईल (अलै.) र हजरत इस्हाक (अलै.) थिए । उनले आफ्ना दुवै छोरालाई दीनको काममा नै लगाउने निर्णय गरी हजरत इस्माईल (अलै.) लाई खेतीपाती नभएको सुनसान र उजाड मरुभूमिको रुपमा रहेको अरब लगेर छोडिदिए र अल्लाहसँग प्रार्थना गरे, “हे मालिक, म र मेरो सन्तानलाई मूर्ति पूजाबाट बचाएर राख, नमाज कायम गराऊ र आफ्नो मायाशक्तिले हजरत इस्माईल (अलै) लाई खान–पिनको बन्दोबस्त गरिदेऊ ।” यसको केहि समय पछि हजरत इब्राहिमले आफ्नो प्यारो हजरत इस्माईललाई बलि (कुर्बानी) दिएको सपना देखे । दुवै बाबु छोरा अल्लाहका इच्छालाई नकार्दैनथे । त्यसैले जे जे छन्, ती सबै अल्लाहका हुन् मानिसको आफ्नो केहि पनि छैन भन्ने सत्यतालाई स्वीकार्दै अल्लाहको नाममा आफ्नो छोरा हजरत इस्माईललाई बलि दिन हजरत इब्राहिम तयार भए । अल्लाहले हजरत इब्राहिम (अलै.) ले आफ्नो सबभन्दा प्यारो वस्तु अल्लाहको नाममा गर्न लागेको त्याग स्वीकार गरी छोरो बलि दिनबाट उनलाई रोके । त्यहि समयदेखि आफ्ना घरमा पालेको प्यारो जनावर बलि (कुर्बानी) गर्ने चाड बकरईद मनाउन शुरु भएको हो । हजरत इबाहिम (अलै.) को यहि त्याग र इमान्दारिता देखेर नै उनलाई अल्लाहले आफ्नो मित्र (खलीलुल्लाह वा अल्लाहका मित्र) मानेका छन् ।
हजरत इब्राहिम (अलै.) ले अल्लाहको आज्ञा अनुसार मक्कामा काबा (अल्लाहको घर) को निर्माण गरे । काबाको निर्माण क्रममा उनले प्रार्थना गरे, हे मालिक, तिमी हाम्रो प्रयत्नलाई स्वीकार गर । तिमी जान्दछौ कि हाकी यो घर लाई खालि तिम्रो खुसीका लागि मात्र बनाइरहेका छौं । हे मालिक, तिमी हामीलाई सच्चा मुस्लिम बनाइदेऊ र हाम्रो बंशमा यस्ता मानिसलाई जन्म देउ कि जो खाली तिमो आज्ञामा मात्र हिड्ने होस् । तिमी हामीलाई तिम्रो पूजा गर्ने उचित तरिका सिकाइदेऊ, हामीबाट जुन भूल हुन जान्छ त्यसलाई माफ गरिदेऊ ।” काबा बनिसकेपछि हजरत इब्राहिमलाई अल्लाहले काबालाई मूर्ति–पूजनबाट अलग राख्न, एक अल्लाहको पूजाको केन्द्र बनाउन, हरेक प्रकारको शिर्क (बहुदेववाद)बाट पवित्र राख्न र त्यसलाई शान्तिको केन्द्र बनाउन आदेश दिए । हजरत इब्राहिमले यस आदेशलाई पूरा गरे र काबालाई संसारमा तौहिद (एकेश्वरवाद) को सबभन्दा ठूलो केन्द्र र मुसलमानहरुको. तिर्थस्थल बनाए ।
हजरत इब्राहिम (अलै.) विदेश भ्रमणमा जाँदा उनका भतिजा हजरत लुत (अलै.) पनि सँगै गएका थिए । उनी सिरिया (शाम)मा बसेकाले अल्लाहले त्यहाँका मानिसलाई उचित सन्देश दिन आफ्नो नबी बनाएका थिए । उनले पनि अल्लाहले देखाएको सच्चा मार्ग हिड्न मानिसलाई सन्देश दिए । तर उनको कुरा नमान्नाले ज्वालामुखिको रुपमा आएको अल्लाहको श्रापले गाँउ नै सखाप भयो ।
हजरत इबाहिम (अलै.) का नाति र हजरत इस्हाक (अलै.)को छोरो हजरत याकुब (अलै.) का १२ छोराहरु मध्येका सबभन्दा शिष्ट र होसियार स्वभावका छोराको नाम हजरत यूसुफ (अलै.) थियो । १६/१७ वर्षको उमेरमा यूसुफ (अलै.)ले सपनामा एघार वटा तारा, चन्द्रमा र सूर्यले उनको अगाडि सज्दा गरेको शिर झुकाएको देखे । यो कुरा आफ्ना बाबु याकुव (अलै.)लाई सुनाउदा बाबुले यूसुफ (अलै.) लाई भने “छोरा ! आफ्नो सपना दाजुभाईहरुलाई छान्न लागेको जस्तो छ । त्यसैले दाजुभाईहरुले सताउन सक्छन् । अल्लाहले तिमीलाई आफ्नो नवी (सन्देष्टा) बनाउछन् ।” हजरत यूसुफ (अलै.) बाल्यकालदेखि नै एकदम असल र बुद्धिमान प्रकृतिका भएकाले बाबु हजरत याकुब (अलै.) उनलाई सबभन्दा बढी माया गर्थे । यो कुरा अरु एघार भाइहरुलाई मन परेको थिएन । त्यसैले उनीहरु मिलेर यूसुफ (अलै.) लाई कहि टाढा लगेर छोडिदिने वा कुनै अँध्यारो कुवामा हालिदिने योजना बनाए । यसै अनुसार उनीहरुले एक दिन हजरत यूसुफ (अलै.) लाई लिएर जंगलमा गए र उनलाई अँध्यारो कुवाभित्र धकेलिदिए । उनको कपडा चाहि फुकालेर कुनै जनावरको रगत लगाएर रुदै घर गए । घरमा रगत लागेको कपडा आफ्नो बाबु याकुव (अलै.) लाई ब्वाँसोले खाएको नाटक गरे । यो कुरा बाबुले त विश्वास गरेनन् र धैर्य धारण गर्नु नै उनले उचित ठाने ।
बटुवाको एउटा समुहले पानी खानलाई कुवाबाट पानी निकाल्न खोज्दा बालक यूसुफलाई कुवा भित्र फेला पारे । उनीहरुले बालक यूसुफलाई कुवाबाट निकाले र मिश्र देशमा लगेर कौडीको दाममा बेचे । बालक यूसुफलाई किन्ने मानिस मिश्रका राजाका भारदार थियो । ऊ मिश्रको एउटा अधिकार सम्पन्न, धनी र पुत्र विहिन मन्त्री थियो । उसले आफ्नी पत्नीलाई बालकको रामो हेरविचार र पालन पोषण गर्न भन्यो । त्यसैले यूसूफ (अलै.)को पालनपोषण उच्च स्तरमा भयो । त्यस्तै उनलाई राम्रो तालिम पनि दिइयो । उनको क्षमता र योग्यता यति उच्च थियो कि त्यसबाट प्रभावित भएर मिश्रका राजाले राजकोष चलाउने ठूलो अधिकार उनलाई सुम्पिए । हजरत यूसुफ (अलै.) ले मिश्रका मानिसहरुलाई ठूलो भोकमरीबाट बचाए र उनले बिग्रन लागेका आफ्ना भाईहरु, खराब काम गरी जेलमा परेका मानिसहरुलाई सत्मार्गमा ल्याए । उनलाई यति बुद्धि र शक्ति दिएकोमा अल्लाह प्रति कृतज्ञता प्रकट गर्दै हजरत युसुफ (अलै.) ले अल्लाह तआलासँग प्रार्थना गरे,“ हे मेरा मालिक ! पृथ्वी तथा आकाश बनाउने वाला तिमी नै हौ । तिमी मेरो अन्त्य इस्लाममा गर र मलाई आफ्नो असल शिष्यसँग भेट गराइदेऊ ।
हजरत युसुफ (अलै.) को एकेश्वरीवादी शिक्षापछि पनि मानिसहरु शिर्क (अत्याचार) मा लिप्त भइरहे । उनको अगाडि सत्यमार्ग अवलम्वन गर्ने कतिपय मानिसहरु पछि पछि गएर मूर्ति र रुख विरुवाको पूजाका साथै अल्लाहको भक्तिमा लागे । यसले गर्दा शिर्कले बढावा पायो । त्यसैले अल्लाह तआलाले मानिसहरुलाई सहि मार्गमा हिड्ने निर्देशन दिन र त्यसको सन्देश पुर्याउन ऐयूव तथा सुऐब नबी बनाएर पठाइए ।
हजरत यूसुफ (अलै.) का कारणले गर्दा उनका धेरै सन्तान मिश्रमा गएर बसोबास गरेका थिए । हजरत याकुवलाई इस्राइल पनि भनिथ्यो । त्यसैले उनका सन्तानलाई बनी–इस्राइल पनि भनियो । हजरत युसुफपछि बनी इस्राइलहरुले आफ्नो राज्य मिश्रको शासन सुव्यवस्थित राख्न खोजे तापनि आपसी फुट र वैमनस्यताका कारण मूर्ति पूजक किवती जातिले मिश्रको शासन आफ्नो कब्जामा लियो । उक्त किवती जातिको राजालाई फिरऔनी भनिन्थ्यो । फिरऔनको एउटा भविष्यवाणीकर्ताले “ चाँडै नै बनी इस्राइकल वंशमा एउटा बालक जन्मिनेछ जसले कवली शासनको अन्त्य गरिदिन्छ ।” भन्ने भविष्यवाणी गरेकाले बनी इस्राइलका घरमा जन्मिने सबै छोराहरुलाई खोजी खोजी मार्न थाले । त्यस समयमा बनी इस्राइल वंशमा हजरत मुसा (अ.) जन्मिए । मुसा (अ.) को जन्मको समयमा बनी इस्राइलको हालत एकदमै बिग्रिएको थियो । एकातिर उनीहरुको ईमान असाध्यै कमजोर हुँदै गइरहेको थियो भने अर्कोतिर तिनीहरु गरिब बन्दै गइरहेको थिए । तिनीहरुमा गरिबीले यति व्यापकता पाएको थियो कि तिनीहरु मिश्रवासीहरुको अन्याय र अत्याचार सहन र ठूलो परिमाणमा कर तिर्न बाध्य थिए । मिश्रका बादशाह फिरऔनलाई एकातिर बनी इस्राइलहरुले शत्रुसँग मिलेर शासन हत्याउलान् भन्ने डर थियो भने अर्कोतिर ज्योतिषिको भविष्यवाणी अनुसारको बालकको जन्म हुन गई हुर्कने, बढ्ने अवसर पायो भने फिरऔनको वंशलाई विनाश गर्लाकी भन्ने ठूलो डर थियो । त्यसैले बनी इस्राइलको संख्या बढ्न नपाओस् बरु दिनदिनै घट्दै जाओस् भन्ने सोच फिरऔनको थियो । यहि सोचले गर्दा फिरऔनले बनी इस्र्राइलको बंशमा जन्मिएका सबै छोराहरुलाई खोजी खोजी घाँटी थिचेर मार्न लाग्यो ।
अल्पसंख्याको अवस्थामा रहेका मुसलमानहरुको इमानमा कमजोरी र धेरै खराबीहरु भएको अवस्था एकातिर थियो भने अर्कोतिर फिरऔनको आतंक र अत्याचार फैलिरहेको थियो । यस्तो अवस्थामा हजरत मुसा (अलै.)को जन्म भयो । आफ्नो छोरालाई प्रशासनले मारिदेला भन्ने ठूलो डर मुसा (अलै.) की आमालाई भयो । तर अल्लाह तआलाले उनको मनमा यो कुरा हालिदिए कि, “डराउनु पर्ने कुनै कुरा छैन, बालकलाई दुध चुसाउ र कुनै समय कुनै कुराको डर भयो भने बालकलाई कुनै बाकसमा बन्द गरेर नदिमा बगाइदिनु । म उसलाई कुनै उपायबाट तिमीसमक्ष नै पुर्याइदिनेछु र उसलाई म आफ्नो बनाउनेछु ।” मुसा (अलै.) लाई केहि समय जसोतसो लुकाएर राखेपछि अल्लाहप्रतिको दृढ विश्वासका साथ उनकी आमाले उनलाई बाकसमा राखेर नील नदिमा बगाइदिइन् र उनकी बहिनीलाई त्यसको पिछा गर्न लगाईन् । नदिले बगाएर फिरऔनको महल नजिकै पुगेको त्यस बाकसलाई फिरऔनका मानिसहरुले नदिबाट निकालेर बाकस खोलेर हेर्दा एउटा सुकुमार र सुन्दर बच्चा देखे । उनीहरुले त्यस बालकलाई फिरऔनको दरबारमा लगे । फिरऔनले त्यो बालक देख्ने बितिकै ज्योतिषीको भविष्यवाणी अनुसारको बालक हुन सक्ने सम्भावना देखेर तत्काल मार्न खोज्यो तर उसकी पत्नीले रोकि । बालकको पालनपोषण त्यसै महलमा हुने भयो र बालकलाई दुध चुसाउने धाइको खोजी हुन थाल्यो । बालक मुसा (अलै.) ले कसैको दुध चुस्न मानेनन् । आखिर उनकै दिदीको मद्दतबाट धाइआमाको रुपमा उनकी आफ्नै आमालाई ल्याइयो र बालक मुसाले दुध चुसे । यसरी अल्लाह तआलाले बालक मुसा लाई आफ्नै आमाको काखमा पुर्याइदिएर दरवारमा सुखसयलका साथ पालनपोषण गराए ।
हजरत मुसा (अ.)जवान हुँदै जाँदा किवती (फिरऔनको वंश) ले बनी इस्राइलीहरु सताइएको सत्यता थाहा पाए । त्यसपछि उनी सताइएकाको मद्दत गर्न किवतीको विरुद्ध खडा भए । यो कुरा थाहा पाए फिरऔनको दरवारमा उनको हत्या गर्ने षड्यन्त्र रच्न पछि डराउदै उनी त्यस शहरबाट निस्किए । मुसा (अलै.) मिश्रबाट निस्किएर मदयनको गाउँ तिर लागे जहाँ हजरत इब्राहिम (अलै.) का सन्तान बस्दथे र फिरऔनको शासन भन्दा बाहिर थियो । मुसा (अलै.) को त्यस यात्रामा उनी एक्लै थिए र शत्रुले पिछा गर्लान् कि भन्ने डर थियो तर आफ्ना रब (मालिक वा अल्लाह) ले सिधा मार्गमा हिडाउनेछन् भन्ने. उनमा पूर्ण विश्वास थियो । केहि दिनको यात्रापछि उनी मदयन पुगे । मदयनको गाउँको एउटा कुवामा धेरै मानिसहरु जम्मा भएर आफ्ना वस्तुभाउहरुलाई पानी खुवाउँदै थिए र नजिकै दुईटी केटीहरु आफ्नो पालो पर्खिएर उभिरहेका थिए । उनीहरुसँग कुरा बुझ्दा कमजोर र बुढो बाबुका छोरीहरु भएकाले त्यसरी पर्खिनु परेको थाहा भयो । त्यसैले मुसा (अलै.) ले कमजोरीहरुको अधिकार मारिएको ठानी उनीहरुका बस्तुभाउहरुलाई आफैंले पानी खुवाए र पठाए । यसरी अल्लाह तआलालाई पुकार्दै हजरत मुसा (अलै.) कमजोर र अन्यायमा परेकाहरुको मद्दत गर्दै र भलाईको उपदेश दिंदै हिडे । हजरत मुसा (अलै.) केहि वर्षसम्म ती केटीहरुको बाबुको घरमा नोकरी गरेर र दुईमध्ये एउटी केटीसँग विवाह गरी आफ्नो घर मिश्रतर्फ लागे । अँध्यारो रात र कठाङ्ग्रिदो जाडोको समयमा बाटोमा हिडिरहँदा पहाडको एकातिर आगो बलेको देखियो । आफ्नी पत्नीलाई त्यही छोडेर ताप्नको लागि आगो लिन र कोही भेटिएमा बाटो सोध्न भनी मुसा (अलै.) आगो भएतिर गए । आगो नजिकै पुगेपछि कसैबाट आवाज निस्कियो “ए मुसा ! म तिमो मालिक हुँ । जुत्ता खोल । अहिले तिमी तुआको पवित्र भूमिमा उभिएका छौ र हेर मैले तिमीलाई सन्देष्टाको रुपमा छानेको छु । अब जे भनिदैछ त्यसलाई ध्यान दिएर सुन । म नै अल्लाह हुँ, म बाहेक कोही पुज्य छैन । त्यसैले तिमी मेरो नै भक्ति गर र मेरो याद गर्नका लागि नमाज कायम गर र विश्वास गर कि पुनरुत्थान (आखिरत) अवश्य आउनेछ । त्यस दिन हरेक मानिसलाई उसको काम अनुसारको बदला (प्रतिदान) दिइनेछ ...।” (२०:२५–३४)
यसरी अल्लाह तआलाले सन्देश अल्लाहले हुुकुम गरे, उनले प्रार्थना गरे,–“हे मेरा रब ! मेरो छाति खोलिदेऊ र मेरा लागि मेरा कार्य सुगम पारिदेऊ र मेरो जिब्रोको गाँठो खोलिदेऊ ताकि तिनीहरुले मेरा कुरा बुझन सकुन् र मेरा खानदानबाट एउटा मेरो सहयोगी बनाऊ मेरो भाइ हारुनलाई । उनीद्धारा मेरो शक्तिमा वृद्धि गर र उनलाई मेरो कार्यमा सहभागी बनाऊ ताकि हामी तिम्रो अत्याधिक पवित्रता वर्णन गरौं र तिमीलाई अत्याधिक स्मरण गरौं ।”(२०:४२–४४) । अल्लाहको यस्तो आदेश र निशानीका साथ हजरत मूसा (अलै.) आफ्नो भाइ हारुन (अलै.) लाई लिएर अल्लाहले सुम्पिएको जिम्मेवारी पूरा गर्न थाले । उनी फिरऔनको दरबारमा गएर उसका मन्त्री, कर्मचारीहरु र फिरऔनका जातिहरुलाई अल्लाहको धर्मको बारेमा बताए । त्यस्तै आफ्नो जाति बनी इस्राइललाई पनि उनीहरुले बिर्सिएको शिक्षा याद दिलाए र धर्मका बारेमा ठीक ठीक कुरा बताए ।
हजरत मुसा (अलै.) ले धर्मका सम्बन्धमा तिनै कुराहरु बताए जुन पहिले नबीहरुले बताएका थिए । उनले फिरऔन र आफ्ना जातिका मानिसहरुलाई सम्बोधन गर्दै भने, “एक अल्लाह बाहेक अरु कोहि पुज्य छैन । उनैको आज्ञापालन हुनुपर्दछ । अल्लाह मात्र हरेक प्रकारका शक्तिका स्वामी हुन् । त्यसकारण उनी बाहेक कुनै अरुसँग सहायता चाहनु वा कुनै अरुको शरण खोज्नु ठीक होइन । अल्लाहको आज्ञापालन गर्नका लागि तिमीहरुले के गर्नुपर्छ र के गर्नु हुँदैन यी सबै कुरा अल्लाहले मलाई भनेर तिमीहरु समक्ष पठाएका हुन् । त्यसैले उनको प्रसन्नता प्राप्त गर्नका लागि तिमीहरुले मैले भनेको मान्नुपर्दछ । जो मैले भनेको मान्दछ उसले नै यस संसार र मृत्युपछि पनि लाभ प्राप्त गर्दछ । अनि जो मैले भनेको मान्दछ उसले नै यस संसार र मृत्युपछि पनि लाभ प्राप्त गर्दछ । अनि जो मैले भनेको कुरामा मुख फर्काएर हिड्छ उसैले हानी बेहोर्नु पर्दछ । आफ्नो यो लाभ हानीका बारेमा त्यस समय थाहा पाउनेछौ जब तिमीहरु आखिरतमा आफ्नो स्वामी समक्ष उपस्थित हुनेछौ । त्यो दिन अवश्य आउनेछ र त्यस दिन नै सफलता र असफलता थाहा हुनेछ ।”
हजरत मूसा (अलै.) र उनका भाई हजरत हारुन (अलै.) आफूलाई देवताको अवतार र सूर्यवंशी शक्तिशाली राजा ठहर गरेर बसेको फिरऔनको दरबारमा गएर एक अल्लाहको इवादत गर्न आह्वान गरे । उनीहरुले भने, “सारा जगतका मालिकले हामीलाई आफ्नो सन्देष्टा बनाएका छन र सबैले एक न एक दिन आफ्ना सबै कर्मको विवरण उनी समक्ष पेश गर्नुपर्नेछ । त्यसदिन सोधिएका प्रश्नहरुको जवाफदेही स्वयं हुनुपर्नेछ । त्यसैले आफ्नो मनोमानी र अत्याचार छोडेर अल्लाहको आदेश अनुसार राज्य गर र इस्राइली माथिको अनावश्यक अत्याचार बन्द गरी उनीहरुमा दया गर । यदि उनीहरुलाई सम्मान दिन चाहदैनौं भने उनीहरुलाई स्वदेश फर्कन अनुमति देऊ जहाँ उनीहरु अल्लाहको साँचो धर्ममा जीवन बिताउन सक्नेछन् ।” यी कुरा सुनिसकेपछि फिरऔनले मूसा (अलै.) पागल भएको कुरा बतायो उसले उनलाई सन्देष्टा वा नवी भएको प्रमाण वा निशान देखाउन भन्यो । मूसा (अलै.) ले हातको लठ्ठी भूँईमा फ्याँके, त्यो सर्प बन्यो । त्यसपछि आफ्नो हात खोकिलामा हाले, त्यो सेतो प्रकाशमय भएर चम्किलो देखियो । यो देखेर फिरऔनका दरवारका सबै मानिसहरु आश्र्चर्य चकित भए ।
मुसा (अलै.) र हारुन (अलै.) को यस्तो चमत्कार पूर्ण अल्लाहका निशानी देखेपछि सबै मानिसहरु उनीहरुको भाषणमा मन्त्रमुग्ध होलान् भन्ने डरले फिरऔनले आफ्ना मानिसहरुलाई भन्यो,“यी दुई ठूला जादुगर हुन, आफ्नो जादुको बलमा तिमीहरुलाई तिमीहरुको देशबाट निकाल्न र तिमीहरुको भर्मलाई पूर्ण विनाश गर्न यिनीहरु चाहन्छन् । यीनीहरुको लोभ राज्य र धनमालमा छ । यिनीहरु तिमीहरुबाट लोभ राज्य र धनमालमा छ । यिनीहरु तिमीहरुबाट राज्य खोसेर लिन र आफैँ मालिक भएर बस्न चाहन्छन् । यसबाट तिमीहरुको पुरानो रीतिरिवाज खतम हुन्छ र तिमीहरुका बाबु बाजेले भनेको तरिका पूर्णरुपले नासिन्छ ।”
फिरऔनले मूसा (अलै.) र हारुन (अलै.) लाई जादुगर भएको ठहर गर्दै आफ्नो देशका ठूलाठूला जादुगरहरुसँग मुकाबिला गरी मूसा (अलै.) लाई हराउन आदेश दियो । तर जादुगरहरुसँग नितान्त जादुगरी बाहेक केही थिएन भने मूसा (अलै.) का साथमा अल्लाहको सहयोग थियो । त्यस्ले ती जादुगरहरुको जादुगरी बेकार हुन पुग्यो र उनीहरु त्यस मुकाविलामा हारे । यसबाटउनीहरुलाई मूसा (अलै.) कुनै जादुगर नभई साच्चै नै अल्लाहका रसूल हुन भन्ने कुरामा विश्वास भयो । त्यसपछि ती दुई दाजु भाईले भनेको कुरा स्वीकार गर्दै जादुगरहरुले इस्लाम कबुल गरे । फिरऔनका हात खुट्टा काटेर सुलीमा चढाउने धम्कीको पनि कुनै परवाह नराखी ती जादुगरहरुले मूसा (अलै.) को आह्वानलाई स्वीकार्दै इमान ल्याए ।
लेखक : इरफान पोखरेल
No comments:
Post a Comment