Friday, October 16, 2015

नेपाली मुस्लिम - एक परिचय

मुस्लिम भन्नाले इस्लाम धर्मको अनुयायी भन्ने बुझिन्छ । चाहे ऊ काठमाडौंको मुस्लिम होस् वा तराईको वा संसारको अनय कुनै पनि भागको मुस्लिम होस् ऊ इस्लाम धर्मावलम्बी हो । मुस्लिमलाई मुसलमान पनि भन्ने गरिन्छ जुन फारसी शब्द हो । अल्लाहले कुरआनमा यस जातिको नाम मुस्लिम नै राखेका छन् । इस्लाम शब्दबाट  मुस्लिम शब्द बनेको हो । इस्लामको अर्थ हुन्छ 'आत्मसमर्पन' र मुस्लिमको अर्थ हुन्छ 'आत्मसमर्पन गर्ने ब्यक्ति' । इस्लामको अर्को अर्थ शान्ति पनि हुन्छ । इस्लाम पूर्ण जीवन ब्यवस्था हो । यसले जीवनको आर्थिक, सामाजिक, राजनैतिक , भौतिक तथा आध्यात्मिक सबै क्षेत्रकोलागि प्रस्ट निर्देशन दिन्छ । त्यसैले इस्लाम एउटा धर्म मात्र नभएर एउटा पूर्ण जीवन प्रणाली हो । मुस्लिम कुनै राष्ट्र, बंश, भाषा वा रङ्गको आधारमा बनेको जाति नभएर एउटा आस्थाको आधारमा बनेको समुदाय हो । जोसुकै ब्यक्ति इस्लामी सिध्दान्तलाई स्वीकार गरेर मुस्लिम समुदायको सम्मानित सदस्य बन्न सक्छ । यो कुरा इस्लाम तथा मुस्लिम दुईवटै गुणात्मक शब्दबाट प्रष्ट हुन्छ । यी दुईवटै शब्दहरूले आत्मसमर्पण, आज्ञापालन तथा शान्ति जस्ता गुणहरूलाई दर्शाउँछन् । इस्लामको शिक्षाका दुईवटा श्रोतहरू छन्, एउटा कुरआन र अर्को हदीस । कुरआन भनेको जगतको वास्तविक सृष्टिकर्ता अल्लाहको तर्फबाट अन्तिम ईशदूत मुहम्मद (स.) माथि अवतरित भएको अन्तिम ग्रन्थ हो र हदीस भनेको मुहम्मद (स.) का कथन  तथा व्यवहारिक जीवनको संग्रह हो । कुरआन तथा हदीसमा जन्मदेखि मृत्युसम्म जीवनका प्रत्येक कार्यको बारेमा स्पष्ट मार्गदर्शन, आदेश तथा निर्देशन दिईएको छ जसको पूर्ण पालना प्रत्येक मुस्लिमको कर्तब्य हुन्छ । यिनै आदेश तथा निर्देशनहरूको व्यवहारिक रूप नै इस्लामी संस्कार हो ।

नेपालमा बसोबास गर्दै आएका मुस्लिमहरूलाई पहिचानको हिसाबले निम्न तीन समूहमा बाँड्न सकिन्छ :

१) काठमाडौंका मुस्लिम

काठमाडौं उपत्यकामा पुस्तौंदेखि बसोबास गर्ने मुस्लिमहरूलाई काठमाडौंका मुस्लिम भनिन्छ । यिनीहरूलाई  पहिचानको हिसाबले निम्न तीन समूहमा बाँड्न सकिन्छ :
क) कश्मिरी मुस्लिम  ख) स्थानीय मुस्लिम ग) तिब्बती मुस्लिम

क) कश्मिरी मुस्लिम काठमाडौंका सबभन्दा पूराना मुस्लिम हुन् । यिनीहरू मध्ये केहीका पुर्खाहरू कश्मिरबाट ब्यपारको सिलसिलामा यहाँ आएर बसेका हुन् भने केही कश्मिरीसँग विहेवारी गरेर कश्मिरी मुस्लिम बनेका हुन् । पेशाको हिसाबले यिनीहरू ब्यपारमा लागेका छन् । उनीहरूको भाषा तथा भेषभूषा उनीहरूको आफ्नै मौलिक छ । यिनीहरू भित्र सैयद, ख्वाजा, शाह,पठान, उद्दीन थरहरू पर्दछन् ।

ख) स्थानीय मुस्लिमहरू ती मुस्लिमहरू हुन् जसका पुर्खाहरू काठमाडौं उपत्यका बाहिरका बिभिन्न भागहरूबाट आएर काठमाडौंमा  बसोबास गरेका वा उनीहरूसँग विवाह गरेका स्थानीय ब्यक्तिहरू स्थानीय मुस्लिमहरू हुन् । यिनीहरू काठमाडौंका असल स्थानीय मुस्लिमको हैसियतले चिनिन्छन् । यिनीहरूको भाषा उर्दुसित धेरै मेल खान्छ ।

ग) पूर्खाहरू चिनको तिब्बतबाट आएर बसोबास गरेका वा इस्लाम स्वीकारेर बसेका तिब्बती मूलका नेपाली मुसलमानहरूलाई तिब्बती मुस्लिम भनिन्छ । पेशाको हिसाबले यिनीहरू ब्यापारमा लागेका छन् । यिनीहरूको भेषभूषा अहिले पनि तिब्बती नै हो ।

२) पहाडे मुस्लिम

नेपालको पहाडी जिल्लामा बसोबास गर्ने मुस्लिमहरूलाई पहाडे मुस्लिम भनिन्छ । पहाडमा बसोबास गरेका मुस्लिमहरूका पुर्खा बाईसे चौबिसे राज्य तथा पृथ्वी नारायण  शाहको पालामा हात हतियार बनाउने, ब्यापार गर्ने, अड्डा आदालतका काम जस्ता कामकालागि तत्कालीन राजाहरूको आह्वानमा बिभिन्न स्थानहरूबाट आई यहीँ बसोबास गरेका हुन् । पहाडमा बस्ने मुस्लिमहरू चुरौटे मुस्लिमको नामले पनि चिनिन्छन् र यिनीहरूले बोल्ने भाषालाई चुरौटे भाषा भनिन्छ । यिनीहरूले आफ्नो भाषालाई मियाँ भाषा भन्छन् । नेपालको पहाडमा मुस्ताङ बाहेक सबै जिल्लाहरूमा मुस्लिमहरूको बसोबिस रहेको छ ।

३) मधेशी मुस्लिम

तराई क्षेत्रमा बसोबास गरिरहेका मुस्लिमहरूलाई मधेशी मुस्लिम भनिन्छ । यिनीहरूको बसोबासको इतिहास धेरै पुरानो छ । जुनबेला भारतमा मुस्लिमको बसोबास शुरु भयो त्यसै समयदेखि नेपालको तराई क्षेत्रमा पनि मुस्लिमहरूको बसोबास शुरु भएको हो । तराईमा लगभग २३ वंशका मुस्लिमहरू बस्छन् । जस्तै अन्सारी, खान, शैख, राईन, सिद्दीकी, मंसूरी, कुरैशी, इराकी, कबाडी, नदाफ, हलवाई, जट, इद्रीसी इत्यादि ।
तराईमा मुस्लिमहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका छन् । बिकास क्षेत्रको हिसाबले मध्यमाञ्चलमा सबैभन्दा बढि मुस्लिमहरू बसोबास गर्छन् भने मध्यमाञ्चल पछि पूर्वाञ्चल अनि पश्चिमाञ्चल र सबभन्दा कम सुदुर पश्चिमाञ्चलमा मुस्लिमहरूको बसोबास रहेकोछ । जिल्लाको हिसाबले रौतहट जिल्लामा सबैभन्दा बढि १९ प्रतिशत मुस्लिम छन् । तराई क्षेत्रका क्रमशः रौतहट, बाँके, कपिलवस्तु, पर्सा, बारा, धनुषा, महोत्तरी सर्लाही, सुनसरी, सिरहा, सप्तरी, मोरङ, नवलपरासी, रूपन्देही, झापा इत्यादि जिल्लाहरूमा मुस्लिमको सघन बसोबास छ । तराईका जम्मा ५ वटा जिल्लाका २७८ गा वि स मा मुस्लिम बाहुल्यता छ भने ३६ वटा गा वि स मा उनीहरू ५० प्रतिशतभन्दा बढी छन् । यसरी तराई क्षेत्रलाई मुस्लिम जातिको प्लामुख बसोबास स्थल मान्न सकिन्छ ।

नेपाली मुस्लिमको जनसंख्याको ४.४९ प्रतिशत काठमाडौं र पहाडमा बसोबास रहेको छ भने ९५.५१ प्रतिशत मुस्लिमहरू तराई क्षेत्रमा बस्छन् । सन् २००१ को तथ्याङक आनुसार नेपालको कुनै पनि क्षेत्र वा जिल्लामा १९ प्रतिशत भन्दा बढी मुस्लिम छैनन् । काठमाडौं उपत्यकाको तीनवटै जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरका टोलटोलमा मुस्लिमहरू छरिएर बसेकाछन् । काठमाडौं जिल्लाको घण्टाघरको उत्तरतर्फ नेपालकै सबैभन्दा पुरानो पन्ध्रौं शताब्दीमा निर्मित ऐतिहासिक कश्मिरी तकिया जामे मस्जिद छ भने दक्षिणतर्फ नेपालकै सबैभन्दा बिशाल नेपाली जामे मस्जिद राष्ट्रको शान बढाइ रहेको छ । सुन्धारा, इन्द्रचोक, ठमेल, नयाबजार, कालीमाटी तथा स्वयंभूमा पनि मस्जिद तथा मद्रसाहरू छन् । ललितपुरको गोदावरीमा काठमाडौं उपत्यकाकै सबभन्दा ठूलो मद्रसा "मद्रसतुल् हरमैन" रहेको छ भने मंगलबजार, इमाडोल लगायत अरू स्थानमा पनि मस्जिद तथा मद्रसाहरू छन् । जहाँ जहाँ मस्जिद तथा मद्रसाहरू छन् त्यसको वरिपरि मुस्लिमहरूको बसोबास बढी देखिन्छ ।

सन् २००१ को राष्ट्रिय जनगणनाले नेपाली मुस्लिमहरूको जम्मा जनसंख्या ४.२७ प्रतिशत अर्थात ९,७१,०५६ देखिएको छ । तर मुस्लिम बुध्दिजीवीहरूको अनुमान अनुसार नेपाली मुस्लिमहरूको जनसंख्या १० प्रतिशत अर्थात २७ लाखको हाराहारीमा रहेको छ । यसको पुष्टि हालका तथ्याङकहरूबाट पनि हुन्छ ।



लेखक : अलाउद्दीन अन्सारी फलाही

No comments:

Post a Comment