कुनै विषयमा निर्णयमा पुग्नु अघि आपसी छलफल र विचार विमर्श गर्नु नै परामर्श हो । एक व्यक्तिको विचारका आधारमा मात्र निर्णय लिदा सहि निर्णय नहुन सक्छ । त्यसैले दुई वा दुई भन्दा बढी व्यक्तिहरु आपसी परामर्शद्वारा निर्णयमा पुग्ने परिपाटी बसालेमा हरेक विषयको निर्णय सबैको लागि ग्राह्य र लाभदायक हुन सक्छ । परामर्श कसैमाथि आफ्नो विचार थोपर्ने प्रवृत्तिको विपरित क्रिया हो ।
केवल आफ्नै विचारमा पूर्ण भरोसा नगरी दुई वा दुई भन्दा बढी व्यक्तिहरुको विचार र बुद्धिको आधारमा कुनै विषयको निर्णयमा पुग्नु सत्यको बढी नजिक पुग्नु हो । कुनै विषयमा परामर्श गर्दा त्यसका विभिन्न पक्षहरु सामुन्ने आउँछन् र अस्पष्टता एवं जटिलता हट्छन् । एउटै विषयलाई विभिन्न दक्षता भएका व्यक्तिहरुले विभिन्न दृष्टिकोणबाट हेर्ने भएकाले परामर्शपछि जुन निर्णय लिइन्छ त्यो दुरुस्त र सत्यताको नजिक हुन्छ । परामर्श गर्नाले व्यक्तिको बुद्धी, ज्ञान र क्षमतामा अभिवृद्धि हुन्छ । कुनै पनि निर्णय पुग्नु अघि आपसी परामर्श गर्नु एउटा महत्वपूर्ण प्रशासनिक सिद्धान्त हो । कुनै पनि विषयमा आफ्नो व्यक्तिगत धारणालाई जवरजस्ति थोपर्नु आफ्नो विचार लाद्नु हो । त्यसैले अन्तिम निर्णयमा पुग्नु अघि परामर्शमा संलग्न सबै व्यक्तिलाई स्वतन्त्रपूर्वक आफ्ना विचारहरु राख्ने अवसर दिनुपर्दछ । निर्णयकर्ताले सबैको धारणा सुनिसकेपछि मात्र तिनै विचारको आधारमा उचित फैसला गर्नुपर्दछ ।
आपसी परामर्शले अत्याचारी एवं तानाशाही प्रवृत्तिको जरा काटिदिन्छ र प्रत्येक महत्वपूर्ण विषयमा राम्रो भन्दा राम्रो उपायले जन्म लिन्छ । यसले व्यक्ति, समाज र राष्ट्रका हरेक अधिकारको समान ख्याल गर्दछ । परामर्शले व्यक्तिलाई प्रशिक्षण प्रदान गर्दछ भने समाज तथा राष्ट्रलाई दिशा निर्देश गर्दछ । इस्लाममा परामर्शको ज्यादै ठूलो स्थान रहेको छ । यसलाई इस्लाममा राजनैतिक व्यवस्थाको आधारस्तम्भको स्थान प्राप्त छ । हरेक राजनैतिक, आर्थिक र प्रशासनिक निर्णयमा परामर्शलाई महत्व दिइन्छ र आपसी परामर्श कै आधारमा कुनै पनि निर्णय लिने आदेश कुरआनले दिएको छ । यसै सन्दर्भमा पवित्र कुरआनको अध्याय अश्शुराको श्लोक नं. ३८ मा भनिएको छ, “जो आफ्ना पालनकर्ताको आज्ञापालन गर्दछन्, नमाज कायम गर्दछन् र आफ्ना समस्याहरु आपसी सल्लाहले सुल्झाउँछन् र हामीले जे दिएका छौं त्यसबाट खर्च गर्दछन् तिनीहरुले नै सफलता प्राप्त गर्दछन् ।”
इस्लामी शासन प्रणाली एउटा सर्व७नतसेष्ठ शासन प्रणाली हो जुन अल्लाह तआलाद्वारा प्रदान गरिएको हो । यसबाट पारिवारिक जीवन, सामाजिक व्यवहार र राजनैतिक समस्याहरु समाधान गर्न धेरै सहयोग पुग्दछ । अल्लाह तआलाबाट आफ्नो अन्तिम सन्देष्टा मुहम्मद (स.) लाई महत्वपूर्ण विषयहरुमा परामर्श गर्ने आदेश भएको छ । पवित्र कुरआनको अध्याय आले इमरानमा आएको छ, “हे मुहम्मद ! उनीहरु (साथीहरु) संग हरेक मामिलामा परामर्श गर ।”
इस्लामी इतिहास पल्टाएर हेर्यौं भने अन्तिम सन्देष्टा हजरत मुहम्मद सल्लल्लाहु अलैही वसल्लम र उहाँ पछिका प्रत्येक इस्लामी शासकहरुले परामर्शलाई उच्च महत्व दिएका छन् । आपसी परामर्शको सिद्धान्तलाई पालना गर्दै जनताको सामु उत्तरदायी बन्नु पर्ने कुरालाई ध्यानमा राखेर नै राष्ट्र प्रमुख (शासक) को जिम्मेवारी पाएपछि आफ्नो पहिलो भाषणमा अबुबकर (रजि.) ले भने, “मेरा प्यारा जनताहरु ! म तपाईहरु बीच सबैभन्दा उत्तम छैन तथापी मलाई तपाईहरुको जिम्मेवार शासक बनाइयो । मैले राम्रो काम गरें भने मलाई सहयोग गर्नुहोस् र कुनै गलत कदम चालेमा मलाई सुधार्नुहोस् । जबसम्म म अल्लाह र उनका रसूल (स.) को अनुशरण गर्दछु तबसम्म तपाईहरु मेरो अनुशरण गर्नुहोस् र यदि मैले कुनै मामिलामा अल्लाह र उनका रसूल (स.) को अवज्ञा गरें भने त्यसबेला मेरो आज्ञापालन गर्नु तपाईहरुलाई अनिवार्य छैन ।”
मुस्लिम समाजलाई त्यो एउटा स्वतन्त्र सन्देश थियो । कि अबुबकर (रजि.) ले अल्लाहको आज्ञापालन र अन्तिम सन्देष्टा (स.) को अनुसरणको गरे नगरेको थाहा पाउन सदा सर्वदा उनीमाथि कडा नजर राखियोस् र जब उनी यस परिधिबाट बाहिरिन्छन् त्यसबेला समाजले उनको सोधपुछ गरोस् भन्ने चाहन्थे ।
यस्तो भनाई केवल अबुबकर (रजि.) को मात्र नभएर सबै इस्लामिक शासकवर्ग र समाज सुधारकहरुको हो । एकपटक इस्लामी शासक उमर (रजि.) लाई एउटासभामा एकजनाले भन्यो, “यदि मैले तपाईमा कुनै टेडोपन देखें भनें म तरवारले त्यसलाई सिधा बनाइदिन्छु ।” यस्तो रुखो बोली सुनेर जब अर्को एकजनाले उसलाई गाली गर्यो तब उमर (रजि.) ले उसलाई भने, “यदि तिमीहरुले यस्तो बचन सुनाएनौं भने तिमीहरुभित्र कुनै भलाई छैन भन्ने म सम्झन्छु र यदि यसलाई मैले स्वीकार गरिन भने ममा कुनै भलाई नभएको ठहरिन्छ ।”
कुनै मानिस व्यक्तिगत मामिलामा कुनै निर्णय चाहन्छ छ र यसका धेरै पक्षहरु र यस सम्बन्धमा मानिसहरुको सल्लाह भिन्न छ र ऊ स्वयं पनि यसमा द्विविधामा परेको छ भने निम्न दुई कार्यबाट उसले सहयोग प्राप्त गर्न सक्छ ।
क. उसले इस्तिखारा गरोस् अर्थात दुई रक्आत नफिल नमाज पढेर इस्लामको दृष्टिकोणमा जुन कुरामा भलाई छ अल्लाहले त्यसतर्फ आफूलाई डोर्याउन् भन्दै आफ्नो मामिला सम्बन्धमा अल्लाहसँग दुवा (प्रार्थना) गर्ने ।
ख. जुन बुद्धिजीविमाथि भरोसा छ उसँग परामर्श लिने ।
यसरी इस्तिखारा र आफ्नो हितैषीको परामर्शको आधारमा हरेक व्यक्ति आफ्नो मामिलाको निष्कर्षमा पुग्नसक्छ किनकी कहिल्यै पनि इस्तिखारा गर्ने (व्यक्ति) निरास र परामर्श गर्ने व्यक्ति लज्जित हुनुपर्दैन । इस्लामले शुरुदेखि नै पारिवारिक जीवनलाई आपसी परामर्श र खुशीको आधारमा निर्माण गर्न भनेको छ र सामाजिक जीवन र इस्लामी राज्यको निमित कुरआनले आपसी परामर्शलाई अनिवार्य गरेको छ । एउटा हदीस अनुसार मुहम्मद (स.) ले भन्नुभएको छ, “छोरीहरुको विवाह सम्बन्धमा आफ्ना पत्नीहरुसँग परामर्श गर र कुमारीहरुबाट उनीहरुको विवाहको अनुमति लिऊ । पति पत्नीहरुले आफ्ना दैनिक साझा कार्यक्रमहरु, आफ्ना छोराछोरीहरुको भविष्य निर्माण बारेमा आपसी परामर्श गरुन् ।”
इस्लाममा आपसी परामर्शले ठूलो महत्व राख्दछ । इशवाणी अवतरणको शुरुका दिनहरुमा हजरत खदिजा (रजि.) को विचार, सोच र सल्लाहले अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.) लाई ठूलो सहानुभुति प्राप्त भएको थियो । त्यस्तै हुदैबियाको सन्धिको अवसरमा उम्मे सलमा (रजि.) को परामर्श महत्वपूर्ण थियो । अन्तिम सन्देष्टा मुहम्मद (स.) आफ्ना साथीहरुसित वाचा लिनुहुन्थ्यो किउनीहरु हरेक अवस्थामा सत्य बोल्नेछन् र अल्लाहको मामिलामा कसैको पर्वाह गर्ने छैनन् । कुरआन र सुन्नतको आधारमा के भन्न सकिन्छ भने स्पष्ट आदेश हुँदा परामर्शको कुनै आवश्यकता छैन । तर अध्यादेशलाई बुझ्न र यसको व्याख्या गर्नको लागि कुरआन र हदीसका आधारमा मामिलालाई बुझ्ने अथक प्रयास गर्न सकिन्छ । स्पष्ट आदेश नभएका मामिलाहरुमा मुहम्मद (स.) परामर्श गर्नुहुन्थ्यो । परामर्शको क्रममा सहमती र विमती दुवैलाई उहाँ (स.) ले राम्ररी सुन्नुहुन्थ्यो । भक्ति र उपासनामा विचार र परामर्शको कुनै खाँचो थिएन । अल्लाहको उपासना उनले बताएका विधिहरु बमोजिम मात्र गर्न सकिन्छ । तर स्पष्ट आदेश नभएका राजनैतिक, आर्थिक, सामाजिक, व्यवस्थापकीय, गैरमुस्लिमहरुसितको सम्बन्ध जस्ता मामिलाहरुमा परामर्श हुनु जरुरी छ । आपसी परामर्श सम्बन्धमा उमर (रजि.) को भनाई छ, “त्यो मामिलामा कुनै भलाई छैन जुन आपसी परामर्श विना गरिन्छ ।” त्यस्तै अबुबकर (रजि.) को भनाई अनुसार,
“कुरआनलाई आफ्नो सल्लाहकार बनाऊ, समूहसँग आवद्ध होऊ, आपसी परामर्श पछि मात्र कुनै निर्णय लिऊ र पूर्ण विचार विमर्श गरेर मात्र कुनै सन्धि गर ।”
अब तपाईको मनमा प्रश्न उठ्ला, आखिर ती कुन व्यक्तिहरु हुन् जोसँग परामर्श लिएर कुनै कुराको फैसला गर्न सकिन्छ ७तिस उनीहरुलाई कसले छनोट गर्ने ७तिस उनीहरुमा कति क्षमता हुनुपर्छ र कति जनासँग परामर्श लिने ७तिस यसको लागि एक पटक हामी मुहम्मद (स.) र उहाँपछिका इस्लामी शासकहरुको समयको समाजलाई हेरौं ।
उहुदको युद्धको लागि निस्कनु अघि मुहम्मद (स.) ले सबै मुसलमानहरु सित परामर्श गर्नु भएको थियो । उहाँ (स.) बद्रको युद्धमा बहुदेववादीहरुसँग लडाइको विषयमा अन्सारहरुको विचार जान्न निकै नै इच्छुक हुनुहुन्थ्यो । अन्सारहरु मदीना बाहिर गएर लङ्दैनन् भन्ने आशंकाले गर्दा मुहम्मद (स.) ले सल्लाह माग्नु भएको थियो । मुहम्मद (स.) ले गतफान जातिसँग संझौता गर्दा सअद बिन मआज र सअद बिन उबादहसँग परामर्श गर्नुभएको थियो । जस अनुसार शत्रुहरुले मदीनाको फलको एकतिहाई लिएर फर्किउन् भन्ने निर्णय भयो । त्यसरी नै इफ्कको मामिलामा मुहममद (स.) ले सबैसँग सल्लाह गर्नुभयो । उहाँले भन्नुभयो “हे मुस्लिम समुदाय ! तिमीहरु उनीहरुको बारेमा परामर्श देऊ जसले मेरा पत्नहिरुमाथि आरोप लगाएका छन् ।” इफ्कको घटनामा आइशा (रजि.) सँगअलग बस्ने विषयमा अली बिन अबु तालिब र उसामा बिन जैदसँग मात्र परामर्श गर्नुभएको थियो ।
हुदैबियाको सन्धिको समयमा मुहम्मद (स.) ले सबैसँग परामर्श गर्दै भन्नुभयो, “आफ्नो विचार प्रकट गर ।” तर बुझ्नु पर्ने कुरा के छ भने आफन्त वा आफ्नो नजिकको नातेदार, इष्टमित्र, साथीभाई मध्ये यदि कोही गलत परामर्श दिनमा तल्लीन भइरहेको देखिएको छ भने त्यस्तो व्यक्तिको सल्लाह लिनु उचित हुदैन । यसको अर्थ यदि अल्लाहको बाटोबाट कसैले रोक्ने प्रयास गर्दछ वा अल्लाहको साझेदार बनाउने परामर्श कसैले दिन्छ भने उसको सुझाव स्वीकार्य हुदैन र त्यस्तो व्यक्तिसँग कदापी परामर्श गर्नु हुँदैन । यसै सन्दर्भमा हुदैबियाको सन्धि सम्बन्धमा आफ्ना साथी र अनुयायीहरुसँग परामर्श गर्दै मुहम्मद (स.) ले भन्नुभयो, “के तिमीहरु उचित ठान्छौ कि म आफन्तहरुको सम्बन्धलाई पनि ख्याल गरुँ ७तिस किनकी जो हामीलाई अल्लाहको घर (काअ्बा) बाट रोक्दैछन् उनीहरु मेरा नातेदार हुन् ।”
त्यस्तै इरान तथा रोमसँग युद्ध गर्दा अबुबकर (रजि.) ले सबैसँग परामर्श गर्नुभएको थियो । उमर (रजि.) पनि आफ्ना गभर्नरहरुको चयन र आपूmले युद्धमा विजय प्राप्त गरेका इलाकाहरुको बाँडफाँड सम्बन्धि विषयहरुमा विभिन्न व्यक्तिहरुसँग परामर्श लिने गर्दथे ।
यी घटनाहरुको आधारमा हामी के भन्न सक्छौं भने अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.) को समयमा हरेक विषयमा ठूला ठूला सहाबा (साथी) हरुसँग परामर्शलिने गरिन्थ्यो । उनीहरुसँग धेरै अनुभव थियो र उनीहरुमाथि समाजको पूर्ण विश्वास र भरोषा थियो । पछिका इस्लामी शासकहरुको समयमा पनि अनुभवी समाजका विश्वासिला र प्रतिष्ठित व्यक्तिहरुसँग हरेक विषयमा छलफल र परामर्श गर्ने गरिन्थ्यो । यी तथ्यहरुको आधारमा इस्लाममा परामर्शको ज्यादै ठूलो स्थान रहेको प्रष्ट हुन्छ । परामर्शले सहकार्य, सहभागिता, सहयोग, सद्भाव र सत्कर्मलाई बढवा दिन्छ । त्यसैले व्यक्तिले परिवारको, समाजको अगुवाले पूरै समाजको, शासकले यसमा अनुभव प्राप्त विशिष्ट, अनुभवी र प्रतिष्ठित व्यक्तिको सल्लाह र सुझाव अनिवार्य रुपमा लिनै पर्दछ । यदि आफ्नो विचारको विपरित पुरै सल्लाहकारको विचार रह्यो भने उनीहरुको परामर्शको इज्जत गर्दै सोही अनुसार नै निर्णय लिनुपर्दछ न कि आफ्नो विचार मुताविक । हुन सक्छ तपाईको विचार यस पटकको लागि प्रतिकुल रह्यो । तर परामर्श दिने व्यक्ति अल्लाहको मार्गमा हिड्ने र अल्लाहको भय राख्ने हुनुपर्दछ । यदि तपाईका पुरै सल्लाहकार कुफ्रमा लिप्त छन् भने उनीहरुको सुझाव र सल्लाह अमान्य हुन सक्छ र तपाई एक्लैको विचार नै अल्लाहको नजिक उचित हुन सक्छ । यसरी परामर्शको आधारमा गरेको निर्णय र चालेको कदमले मात्र व्यक्ति, समाज र राष्ट्रको सुधार र उन्नती हुन सक्दछ र संपूर्ण मानिसहरुको आखिरत पनि सुखमय बन्न सक्दछ ।
(सहयोगी सामग्री : समाज सुधारमा परामर्शको अपरिहार्यता)
लेखक : इरफान पोखरेल
No comments:
Post a Comment